काठमाडौं। पछिल्लो समय राजावादीहरुको सक्रियता देखेर सरकार झस्किएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएपछि उनका समर्थकहरु हौसिरहेको बेला सरकारले निषेधाज्ञा लगाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राजधानीकाकेही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको हो । जसमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर निषेधित क्षेत्रका रूपमा परेका छन् ।प्रशासनले निषेधाज्ञा जारी गरेका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने जनाएको छ ।