काठमाडौं । मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मूल्यवृद्धिमा सुधार भएको छ भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । चालू खातामा पनि सुधार देखिएको छ । तर, शोधनान्तर स्थिति भने गत वर्षको तुलनामा केही कमी आएको छ । तर, समग्रमा सबैजसो तथ्याङ्कहरू बलियो देखिएका छन् ।
महँगी एक वर्षअघिको तुलनामा घटेको छ । २०८१ माघ महिनामा वार्षिक विन्दुुगत उपभोक्ता मुद्रास्फीति (महँगी) चार दशमलव १६ प्रतिशत रहेको छ । एक वर्षअघि यस्तो महँगी दर पाँच दशमलव शून्य एक प्रतिशत थियो ।
खाद्य तथा पेयपदार्थ समूहमा महँगी चार दशमलव ९५ प्रतिशत, गैरखाद्य तथा सेवा समूहको महँगी तीन दशमलव ७४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको महँगी दर क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८० प्रतिशत, दाल तथा गेडागुडीको नौ दशमलव शून्य छ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ९८ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स आप्रवाह बढ्यो
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा नौ खर्ब ५८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा सात दशमलव तीन प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएकोे थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक वर्षअघिको तुलनामा पाँच दशमलव तीन प्रतिशतले बढेर छ अर्ब ६५ करोड पुगेको छ । गत वर्ष माघ मसान्तसम्म छ अर्ब ३१ करोड अमेरिकी डलरबराबर रेमिट्यान्स भित्रिएको थियो ।
यस वर्ष सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार छ सय २१ पुगेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार चार सय ३२ र एक लाख ५७ हजार ४५ रहेको थियो ।
विदेशी विनिमय सञ्चितिमा सुधार
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव एक प्रतिशतले बढेर २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११ दशमलव सात प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।
सञ्चित रहेको विदेशी विनिमयमध्ये नेपाल राष्ट्र बैंकमा २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड सञ्चित रहेकोमा २०८१ माघ मसान्तमा १३ दशमलव नौ प्रतिशतले वृद्धि भई २१ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना छ दिनको वस्तु आयात वा १४ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१ दशमलव पाँच प्रतिशत, एक सय २० दशमलव तीन प्रतिशत र ३२ दशमलव पाँच प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत थियो ।
चालू खाता एक खर्ब ६६ अर्ब बचतमा
मुलुकको चालू खाता बचत पनि बढेको छ । २०८१ माघ मसान्तसम्म चालू खाता एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा छ । गत वर्ष माघमा चालू खाता एक खर्ब ६२ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा २०८१ माघमा एक अर्ब २४ करोडले चालू खाता बचतमा छ । गत वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा थियो ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ८० करोड थियो । यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पाँच अर्ब १९ करोड थियो ।
शोधनान्तर बचत गत वर्षभन्दा घट्यो
शोधनान्तर स्थिति बचत गत वर्षभन्दा कम छ । २०८१ माघमा शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा छ । गत वर्ष माघमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष माघमा दुई अर्ब २४ करोड बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष दुई अर्ब ११ करोडले बचतमा छ ।
विदेश भ्रमण र शिक्षामा खर्च बढ्यो
विदेश भ्रमण र अध्ययनमा एक खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । जुन गत आर्थिक वर्षको पहिलो साता महिनाको तुलनामा १० दशमलव ६० प्रतिशत बढी हो । यसमध्ये शिक्षातर्फको खर्च ६४ अर्ब १५ करोड र विदेश भ्रमणमा भएको खर्च ५१ अर्ब ७३ करोड रुपैयाँ छ । गतवर्ष शिक्षातर्फ ६६ अर्ब ६४ करोड र भ्रमणमा ३८ अर्ब ११ करोड रुपैयाँ गरी कुल एक खर्ब चार अर्ब ७५ करोड खर्च भएको थियो ।
नेपाल भ्रमणमा आउने पर्यटकबाट यस आर्थिक वर्षको सात महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ७० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा भ्रमण आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो । समग्रमा खुद सेवा आय ५० अर्ब रुपैयाँ २२ करोडले घाटामा छ । गत वर्ष यस्तो घाटा ३६ अर्ब ३८ करोड रुपैयाँ थियो ।