काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरूको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको ईएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।
कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरूको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि ओएई उपकरण महत्वपूर्ण हुने बताए । बच्चा जन्मिएपछि श्रवण क्षमताको परीक्षण गरे जन्मजातै सुन्न नसक्ने अपाङ्ता नियन्त्रणमा टेवा पुग्ने प्राडा अन्सारीले बताए । सरकारले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका २०८१ स्वीकृत गरेको छ । सरकारको अभियानलाई सार्थक पार्न इएनटी ओपीडीमा ओएई उपकरण स्थापना गरेको प्राडा अन्सारीले जानकारी दिए ।
राजधानीमा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाहरूमा नवजात शिशुहरूको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण छैन । कलेजले यही समस्यालाई दृष्टिगत गरी अडियोलोजी युनिटमा ओएई उपकरण स्थापना गरेको हो । कलेजमा अन्यत्र जन्मिएका नवजात शिशुहरूको पनि ओएई उपकरणबाट श्रवण क्षमता जाँच गर्न ल्याउन सकिन्छ । सरकारले जारी गरेको निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले प्रारम्भिकरूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए/नभएको परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले श्रवणसम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ । यस व्यवस्थाअनुरूप नेपाल मेडिकल कलेजमा अन्य अस्पतालहरूले श्रवण क्षमता परीक्षणका लागि प्रेषण गर्न सक्नेछन् ।
जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलोपटक आएका बेला प्रजनन् क्षमताबारे अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ । निर्देशिकाअनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएई उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ ।
नेपालमा जन्मिएका एक हजार शिशुमध्ये एक दशमलव आठमा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको तथ्याङ्कक छ । २०७८ को जनगणनाअनुसार पाँच वर्षमुनिका तीन हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो र बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । कलेजकी प्रबन्ध निर्देशक डा साविहा यास्मिनका अनुसार बच्चा जन्मिनेबित्तिकै उसको श्रवण क्षमता परीक्षण गरे धेरै हदसम्म बहिरोपन रोक्न सकिन्छ ।