इस्लामाबाद । पाकिस्तानमा रहेको सशस्त्र लडाकुहरूको संगठन बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार जाफर एक्सप्रेसको एक रेलमा आक्रमण गरी अपहरण गरेको छ ।
बीएलएले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिँदै एक सय ८२ यात्रुलाई बन्धक बनाइएको र २० पाकिस्तानी सैनिक मारिएको बताएको छ । बीएलएले एउटा ड्रोन खसालेको पनि बताएको छ । सरकारी रेलवे अधिकारी मुहम्मद काशिफले रेलमा रहेका चार सय ५० भन्दा बढी यात्रुहरुलाई बन्धुकधारीहरुले बन्धक बनाएको बताएका छन् ।
क्वेटादेखि पेशावर जाने बाटोमा रहेको बलुचिस्तानको बोलान जिल्लाको मशकाफ क्षेत्रमा दिउँसो १ बजेतिर सो रेलमा आक्रमण भएको थियो । मंगलबार साँझसम्म पनि सो रेल पूर्णरूपमा सशस्त्र लडाकुहरूको नियन्त्रणमा थियो ।
अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाए ।
आतङ्ककारीहरूले द्रुत गतिमा रेल नियन्त्रणमा लिएर सबै यात्रुहरूलाई बन्धक बनाएका हुन् । सशस्त्र लडाकुको समूहले बन्धकहरूलाई उद्धार गर्ने प्रयास गरेमा डरलाग्दो परिणाम घटाउने चेतावनी दिएको छ ।
यात्रुहरूलाई बन्धक बनाइएको छ भने चालक घाइते भएका छन् । सरकारी अधिकारीका अनुसार सिबीका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ । सिबीसँग जोडिएको क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारीले रेल पहाडले घेरिएको सुरुङको ठीक अगाडि अड्किएको छ । यो क्षेत्र पहाडी क्षेत्र हो, जसले गर्दा सशस्त्र बन्दुकधारीहरूलाई लुक्न र आक्रमणको योजना बनाउन सजिलो हुन्छ ।
सन् २०२१ मा तालिबानले सत्ता फिर्ता लिएपछि अफगानिस्तानसँगको पश्चिमी सीमावर्ती क्षेत्रहरूमा उत्तरदेखि दक्षिणसम्म हिंसा बढेको छ ।