काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फागुण महिनामा सातै प्रदेशहरूको विभिन्न स्थानका जनसमुदायमाझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रम विशेषगरी कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना भएको थियो ।
यो कार्यक्रमअन्तर्गत व्यावसायिक योजनाको तयारी, बजारीकरणको सम्भावना, बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरू, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन, ग्राहकको अधिकारलगायतका विषयवस्तुहरू समेटिएको थियो ।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले यस्ता किसिमका कार्यक्रमले आफूमा भएका दुविधाहरू हट्ने र भविष्यमा आइपर्ने जोखिमहरूलाई समयमा नै व्यवस्थापन गर्न सहजीकरण हुने आशय व्यक्त गरेका थिए । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदै यस किसिमका कार्यक्रमहरू विगतमा पनि सञ्चालन गर्दै आएको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सूचना जनसमुदाय माझ पुग्ने भएकाले यसको सकारात्मक प्रभावकारिता रहेको छ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।