काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना मल्ल,कुमार रेग्मी,मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा भएको सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको छ । सापकोटा माथि अपहरण तथा ज्यान मार्ने मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा पहिलो पटक मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।