काठमाडौं, सरकारले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गरेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल केही दिन बाँकी रहेको अवस्थामा सरकारले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल सदस्य छन् । समितिले गभर्नर चयनको प्रक्रिया अगाडि बढाउनेछ । हालका गभर्नर अधिकारीको चैत २४ गते कार्यकाल सकिँदै छ ।यो समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामा एक जना डेपुटी गभर्नरको नाम सिफारिस गर्नुपर्नेछ भने अरु दुई जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ ।
समितिले सिफारिस गरेका नामबाट मन्त्रिपरिषद्ले एक जनालाई आगामी पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ । गभर्नरका लागि डेपुटी गभर्नरहरू निलम ढुंगाना र बमबहादुर मिश्रमध्ये एक जना समितिको सिफारिसमा पर्नेछन् । उनीहरूले यसअघि नै लबिङ सुरु गरिसकेका छन् । यस्तै राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ पनि दाबेदारका रूपमा नाम आएको छ । बैंकरहरू ज्ञानेन्द्र ढुंगाना र अशोक शेरचन पनि गभर्नरको दौडमा लबिङ गरिरहेका छन् । यस्तै पूर्वसचिव रामेश्वर खनाल र लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट समेत गभर्नरका आकांक्षी रहेको चर्चा चलेको छ ।