अधिकांश वाणिज्य बैंकले चैत महिनाका लागि पनि फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।हिमालयन र नेपाल बैंकले भने चैत महिनाको ब्याजदरमा केही परिवर्तन गरेका छन् । हिमालयन र नेपाल बैंकले चैतमा व्यक्तिगत मुद्दतीमा पाँच दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएका छन् । फागुन महिनामा भने यी दुई बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव २५ र पाँच दशमलव छ प्रतिशत रहेको थियो ।
बाँकी १८ वटा बैंकले चैत महिनाको लागि पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमध्ये नबिल बैंकले व्यक्तिगत निक्षेपमा पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा पनि नबिलको सोही दरको ब्याज दिएको थियो । माछापुच्छ«े र एनआईसी एसिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ चैत महिनाको लागि फागुन महिनाकै ब्याजदरलाई निरन्तता दिएका छन् । यी दुई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ र छ दशमलव छ प्रतिशत छ । एनएमबी र सिटिजन्स बैंक इन्टरनेसनलले पनि चैत महिनाको लागि फागुन महिनाकै ब्याजदरदलाई निरन्तरता दिएका छन् । यी बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव ६० र पाँच दशमलव ६५ प्रतिशत छ ।
कृषि विकास बैंकले पनि चैत महिनामा फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ५१ प्रतिशत ब्याजदर कायम गरेको छ । फागुन महिनामा पनि यो बैंकको ब्याजदर सोही अनुपातमा रहेको थियो । ग्लोबल आईएमई बैंकले पनि चैत महिनाको लागि फागुन महिनाकै ब्याजलाई निरन्तरता दिँदै छ प्रतिशत ब्याजदर तोकेको छ ।कुमारी, प्राइम कमर्सियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ चैत महिनाको लागि फागुन महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी बैंकले चैत महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः पाँच दशमलव ८१, छ दशमलव २५ र छ दशमलव पाँच प्रतिशत तोकेका छन् ।
नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ र सानिमा बैंकले पनि चैत महिनाको लागि फागुन महिनाकै ब्याजदरलाई निरन्ता दिँदै क्रमशः पाँच दशमलव पाँच, छ, छ र छ दशमलव शून्य पाँच प्रतिशत ब्याजदर तोकेका छन् । लक्ष्मी सनराइज बैंकले पनि चैत महिनामा फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ ।चैत महिनाको लागि प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले पनि फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकको चैत महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव एक, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।