काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुयाङछुयाङ दोर्जे लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बैंकिङ कसुरमा चार करोड नौ लाख २७ हजार एक सय ३७ रुपैयाँ बिगो कायम भई फरार प्रतिवादीलाई यही फागुन २८ गते काठमाडौंको अनामनगरबाट पक्राउ गरिको चैत्र १ गते सार्वजनिक गरिएको हो ।
दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका प्रतिवादी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार भएका ४९ वर्षीय लामा सोपश्चात् लुकिछिपी काठमाडौं महानगरपालिका वडा नम्बर–६ मा बस्दै आएका थिए ।
उनीविरुद्ध प्रहरी वृत्त मालीगाउँमा पनि २४ लाख बिगो भएको बैंकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन् । पक्राउ परेका लामालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त मालीगाउँमा पठाइएको उनले जानकारी दिए ।
पाँचवटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन पनि लामा संलग्न देखिका छन् । यसबाहेक काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा समेत लामा फरार रहेको देखिएको छ ।