काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले पुराना कर्मचारीलाई दीर्घ सेवाबाट सम्मानित गरेको छ । १८ वर्षअघि ४३ जना कर्मचारीबाट सुरु भएको बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सो सम्मान दिएको हो ।
चैत्र एक गते बैंकले कर्मचारीको दिनकोे रूपमा मनाउँदै आएको छ । बैंकले १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा एक महिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । बैंकमा हाल १८ सय कर्मचारीहरू कार्यरत छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मेहनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट शतप्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले हाल देशभरका ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९९ वटा शाखा कार्यालयहरू, एक सय ६६ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।