काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्न निर्देशन दिएकोे छ । केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१’ जारी गर्दै सो व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि यस्तोे व्यवस्था थिएन ।
यस्तो रकम शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यलगायतमा खर्च गर्न सकिनेछ । ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतीक्षालय, सडकबत्ती, सार्वजनिक शौचालयलगायतको निर्माण, पुनःनिर्माण तथा संरक्षणमा गरिने खर्च, बैंक खाता खोल्दा बैंकको तर्फबाट जम्मा गरिदिएको प्रतिखाता एक सय रुपैयाँ, राष्ट्रिय महत्वको आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, खेलकुद क्षेत्रको विकास र त्यसको पूर्वाधारमा पनि सीएसआरबाट खर्च गर्न सकिने भएको छ ।
यसरी गरिने खर्च एकै भौगोलिक क्षेत्र तथा विषयमा सीमित गर्न भने पाइने छैन । प्रत्येक पैदेशमा न्यूनतम १० प्रतिशतसम्म खर्च गर्नुपर्ने यसअघिको व्यवस्थालाई फेरि पनि निरन्तरता दिएकोे छ ।
संस्थाको ब्रान्ड प्रवद्र्धन तथा बजार विस्तारका लागि गरिने मार्केटिङ अभियान, विभिन्न कार्यक्रमलाई गरिने सहयोग, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्याली तथा विज्ञापन, संस्थापक सेयरधनी र सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिने खर्च संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतनको खर्चमा समावेश गर्न नपाउने व्यवस्था पनि गरेको छ ।