काठमाडौं । वारेन्टी अवधिमा गाडीमा पुगेको क्षतिलाई राहत दिनुको साटो उल्टै छ महिनासम्म ग्यारेजमा थन्क्याएर चौधरी ग्रुपले उपभोक्तालाई मानसिक र आर्थिक क्षति पु¥याएको छ । समयमा गाडी मर्मत नगर्दा इन्जिनमा खिया लागेपछि अनुमति नै नलिई इन्जिन समेत खोलेर चौधरी ग्रुपले गैरकानुनी काम गरेको पीडित गाडी धनीले आरोप लगाएका छन् ।
चौधरी ग्रुपअन्तर्गत्को आधिकारिक सोरुम शाखा सूर्य अटोमोबाइल्स प्राइभेट लिमिटेड थापाथलीबाट खरिद गरेको मारुती ग्राण्ड भितारा स्मार्ट हाइब्रिड २ डब्लुडी मोडलकोे गाडीमा खरिद गरेको आठ महिनामा नै क्षति पुगेपछि सर्तअनुसार ललितपुर निवासी राम सागर यादवले कम्पनीसँग वारेन्टी दाबी गरेका थिए ।
खरिदकर्ताले नियमित किस्ता तिरिरहन बाध्य भए पनि छ महिनासम्म कम्पनीले गाडी फिर्ता नगर्दा आफू आर्थिक र मानसिकरूपमा समस्यामा परेको भन्दै यादव अहिले उपभोक्ता अदालतको ढोकामा न्याय माग्न पुगेका छन् । वारेन्टीको समयभित्रै गाडीमा पुगेको क्षति मागदाबी गर्दा चौधरी ग्रुपले अनेक बहाना गरेर छ महिनासम्म गाडी फिर्ता नगरेको भन्दै उनले चैत ३ गते उपभोक्ता अदालतमा उजुरी दिएका हुन् ।
गत असोज ११ र १२ गते गएको विनाशकारी बाढी पहिरोमा परी ललितपुरमा आफ्नै घरमा रहेको अवस्थामा यादवको गाडीमाथि क्षति पुगेको थियो । क्षतिपछि प्रहरी प्रभाव बुंगमतीले स्थानीय भद्रभलाद्मी समेत राखेर प्राकृतिक विपत्तिमा परी सो गाडीमा क्षति पुगेको प्रतिवेदन निकालेको थियो । नियमित इन्स्योरेन्स समेत बुझाइरहेका यादवले कुनै उचित कारणविना नै आफूले लामो समयसम्म गाडी फिर्ता नपाएको बताएका छन् ।
पाँच महिनासम्म सरसफाइ नगरी लापरवाहीपूर्ण तरिकाले राख्दा गाडीको इन्जिनलगायत फलामजन्य पार्ट्सहरूमा खिया लागेपछि आफ्नो कमजोरी छोप्न जम्मा ६४ सय किलोमिटर मात्र गुडेको इन्जिन अनुमतिविना नै खोलेको आरोप पनि यादवले लगाएका छन् । उनले यस विषयमा पनि क्षतिपूर्तिको माग गरेका छन् ।
उजुरीमा यादवले प्रथम बीमा गरेको बीमाको अवधि सन् २०२४ को जनवरी १८ देखि २०२५ को जनवरी १७ सम्म रहेकोमा सवारी फिर्ता नआए पनि दोस्रो बीमाबापत २०२५ को जनवरी १८ देखि २०२६ जनवरीको १७सम्मका लागि आफूले बीमा समेत नवीकरण गरिसकेको यादवको भनाइ छ । चौधरी ग्रुपले गाडीको सट्टाभर्ना पाउन मागदाबीसहित निवेदन दिँदा हालसम्म पनि विभिन्न बहानाबाजी गरी, आलटाल गरी आठ महिनासम्म झुलाएर राखेको यादवले आरोप लगाएका छन् ।
यादवले आफूले गाडी खरिद गर्नका लागि लगानी गरेको ६२ लाख ६९ हजारसहित आफू र परिवारले गाडीको अभावमा तिरेको यातायात खर्च र मानसिक क्षतिसहित गरेर ७७ लाख ७२ हजार रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित उजुरी दर्ता गराएका हुन् ।
यादवले झम्सीखेलस्थित सिजी होल्डिङ्ग चौधरी ग्रुप, डल्लुस्थित सुजुकी सर्भिस सेन्टर र थापाथलीस्थित सूर्य अटो मोबाइल्स प्रालिलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन् । विपक्षीहरूमध्येबाट गाडी खरिदको समयमा भुक्तानी गरिसकेको ६२ लाख ६९ हजार, गाडी नहुँदाअफिस आवतजावत गर्दा प्रयोग गरेको यातायात खर्चबापतको तीन लाख, घर परिवारले गाडीको अभावमा तिरेको दुई लाखको यातायात खर्च, आफ्नो र मेरो घर परिवारको मानसिक क्षतिबापतको दश लाख, पहिलो इन्सुरेन्सबापत तिरेको ६६ हजार पाँच सय, दोश्रो इन्सुरेन्समा तिरेको ६० हजार, गाडीको अद्यावधिक गराउँदा लागेको २६ हजार र दोस्रो पटक गाडीको अध्यावधि गराउदा लागेको खर्च २८ हजार पाँच सयसहित कुल ७७ लाख ७२ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।
त्यस्तै, विपक्षीहरुले कानुनी व्यक्तिको रुपमा दर्ता गरेको कम्पनीको प्रमाणपत्र माग्दा नदिएको, खरिद गरेको बिलबिजक माग गर्दा नदिएको, तिरेको मूल्यको कर दाखिलाको कागज माग गर्दा नदिएको, विभाग र कम्पनी रजिस्ट्रारको अभिलेखमा हेर्दा पनि विपक्षी दर्ता भएको नदेखिएकाले शाखा खोल्ने अनुमति नै नलिई कारोबारस्थल बाहिर कारोबार गरिरहेको आशंका समेत उजुरीमा गरिएको छ । यादवले आन्तरिक राजस्व बिभाग र कम्पनी रजिस्ट्रारको कार्यालयबाट सक्कल कागजात पेश गराउन समेत अदालत समक्ष माग गरेका छन् ।