काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जा (मार्जिन लोन) बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म सेयर धितोमा एक खर्ब १५ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरि ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
एक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा २९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ कर्जा बढाएका छन् । २०८० माघ मसान्तमा सेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले गत माघसम्म सेयर धितोमा ९३ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २६ अर्ब ५३ करोड १० लाख रुपैयाँ बढी हो । गतवर्ष माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ६६ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरू गत माघसम्म सेयर धितोमा १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ९९ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म विकास बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जा १४ अर्ब ९० करोड रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले गत माघसम्म सेयर धितोमा चार अर्ब नौ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ४१ करोड ४० लाख रुपैयाँ बढी हो । गत वर्ष माघ मसान्तसम्म तीन अर्ब ६७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
कर्जाको ब्याजदर सस्तो भएकोले बैंकबाट ऋण लिएर सेयरबजारमा लगानी गर्ने क्रम बढेको छ । उपभोग बढ्न नसक्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकिरहेको छैन । उद्योगीले उत्पादन बढाउने अवस्था आए मात्रै वास्तविक क्षेत्रमा लगानी वृद्धि गर्न कर्जाको माग हुन्छ । तर, अहिले त्यस्तो अवस्था छैन । त्यसैले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर सेयरबजारबाट सेयर किन्नेहरू बढेका कारण बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जाको आकार बढेको हो ।
अर्थशास्त्रीहरू आर्थिक गतिविधि बढ्न नसक्दा लगानीका अन्य क्षेत्र सुस्त देखिएकोले लगानीकर्ताहरू सेयरबजारमा सक्रिय हुन थालेको बताउँदै आएका छन् । अर्थतन्त्रका सबैजसो सूचकहरू सकारात्मक छन् । तर, अझै पनि उत्पादन बढ्न सकेको छैन । सरकारले पर्याप्त खर्च गर्न नसक्दा निर्माण क्षेत्र पनि सुस्त छ । जसले गर्दा आर्थिक गतिविधि बढ्न सकिरहेको छैन ।
संस्थागत लगानीकर्ताले पनि सेयरबजारमा लगानी बढाइरहेका छन् । सस्तो ब्याज रहेको अवस्थामा दोस्रो बजारबाट छोटो समयमा राम्रो प्रतिफल पाउने सम्भावना देखिएपछि संस्थागत लगानीकर्ताले पनि सेयरमा लगानी बढाएका छन् ।