काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको दुई सयवटा शाखाहरू सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा–सुविधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । सुविधासम्पन्न यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखा शुभारम्भ भएको दिनमा नै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा ९ मा सञ्चालनमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोगस्वरुप सो सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६७ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।