काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनामा टेन्डर आह्वान नगरेरै आयोजना प्रमुख र ऊर्जामन्त्रीको मिलेमतोमा करोडौँको कवाडका सामग्री बिक्री गर्ने अनुमति दिइएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निर्देशनमा आयोजना प्रमुख छवि गैरेले बोलपत्र आह्वान नगरेर हाइड्रोका कवाड सामग्री बिक्री गर्न लागेका हुन् । ऊर्जामन्त्री खड्काको ठाडो निर्देशनमा आयोजना प्रमुख गैरेले टेन्डर नखुलाएर समर सप्लाइज नामक कम्पनीलाई कवाड सामग्री दिलाउन लागेका हुन् ।
यसअघिका तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेत र पम्फा भुसालले समेत कवाड बिक्रीका लागि पत्र पठाउँदा समेत कवाड सामग्री बिक्री गर्न आयोजना प्रमुख गैरेले अनुमति दिएका थिएनन् । तर, यसपालि ऊर्जामन्त्री खड्काको निर्देशनमा आयोजना प्रमुख गैरेले स्थानीयलाई कुनै जानकारी नै नदिएर विनासूचना कवाड बिक्री गर्ने अनुमति दिन तयार भएका हुन् ।
सरकारी परियोजनाका हरेक सामग्री खरिदबिक्री गर्न सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । तर, आयोजना प्रमुख गैरेले ऊर्जा मन्त्रीको निर्देशनमा झापाका क्षितिज देवानको समर स्पलाइज कम्पनीलाई कवाड बिक्री गर्ने निर्णय गरेका हुन् ।
एमाले नेता प्रदीप नेपालका नातेदार रहेका देवान ऊर्जामन्त्री खड्काको लगानीमा रहेको रसुवास्थित लाङटाङ खोला विद्युत् परियोजनाको जनसम्पर्क अधिकृत रहेका छन् । देवान प्रदीप नेपालका सहोदर साला र एमाले निकट युवा संघका नेता हुन् ।
परियोजना प्रमुख गैरेले मनोमानी ढङ्गले विनासूचना कवाड सामग्री देवानलाई बिक्री गर्ने निर्णय गरेपछि रसुवाका स्थानीय र अन्य सरोकारवालाले अवरोध गरेका छन् । स्थानीयको अवरोधले तत्कालका लागि कवाड सामग्री बिक्री गर्न भने रोकिएको छ ।
रसुवागढी जलविद्युत परियोजना प्रमुख गैरेले विद्युत् परियोजनाका लागि खरिद गरिएका अत्यावश्यक सामग्रीमा समेत अनियमितता गर्दै आएका छन् । उनले परियोजनाका लागि खरिद गरिएका सामग्री पुराना बनाएर त्यसबाट बीमाबापतको रकम लिएको पाइएको छ ।
स्रोतका अनुसार गैरेले खरिद गरिएका सामग्री गोदाममा थन्क्याएर कवाड बनाई सो सामग्रीको बीमा बापतको रकम लिएर मात्रै परियोजनामा प्रयोग गर्नेगरेका छन् ।
यसरी बीमा रकम असुली गरी योजनाबद्धरूपमा निर्माण सामग्री पुराना बनाएर गैरेले मोटो रकम लिँदै आएको परियोजना स्रोतको दाबी छ ।
यसबारेमा जानकारी लिन उनै आयोजना प्रमुख गैरेसँग सम्पर्क गर्दा उनले आयोजनाको सामग्री नभई निर्माण कम्पनीका सामग्री बिक्री गरिएको बताए । उनले रसुवागढी विद्युत् परियोजनाको त्यसमा कुनै भूमिका नहुने जिकिर गरे ।
कवाड खरिदकर्ता समर सप्लाइजका देवानले पनि सरकारी परियोजनाको सामग्री नभई परियोजनामा कार्यरत ठेकेदार कम्पनीको कवाड सामग्री खरिद गर्न लागेको दाबी गरे । देवानले सरकारी परियोजनाको निर्माण सामग्री नभएर परियोजना निर्माणको जिम्मा लिएको निर्माण कम्पनीमा रहेका कवाड सामग्री खरिद गर्न लागेको बताए ।