काठमाडौं, साउन १३
कुरियरमार्फत होम डेलिभरि गर्ने नाममा सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सविज कुरियर सर्भिस अनलाइन सेवाका सञ्चालक ललितपुर महालक्ष्मी नगरपालिका– ५ इमाडोल बस्ने धनुषा सवेला गाँउपालिका–३ सवेला घर भएका २४ वर्षीय साहलाई पक्राउ गरेको हो ।
उनले कुरियरमार्फत होम डेलिभरि गर्ने भनी सामान नपु-याई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडाहरू नेपालमा होम डेलिभरि गराइदिने भनी उनले दुई लाख ७९ हजार नौ सय १० रुपैयाँ ठगी गरको प्रहरीको भनाइ छ । उनले ठगी गरेको भन्ने उजुरी आउनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बेबी कार सिट मगाउने पीडितले ई–सेवाबाट पठाएको नौ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरू नेपाल ल्याउनको लागि होम डेलिभरि गराइदिने भनी ७७ हजार सात सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार पाँच सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलिभरिको लागि १४ हजार आठ सय ७५ रुपैयाँ र औषधि तथा मोबाइल होम डेलिभरिको लागि ७३ हजार सात सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरि नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।