काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेकाा छन् । उनले बैठकमार्फत आर्थिक अभावमा कुनैपनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।
यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । उपचार लिनेको सङ्ख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न सञ्चालक समिति बैठकले स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गरेको छ । हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आएको छ ।नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।