काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था राजावादी सडकमा उत्रिँदैमा नढल्ने बताएका छन् ।
देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गर्दै उनले रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । भट्टराईले अहिलेको समस्या व्यवस्थामा भन्दा पनि व्यक्तिमै भएको हुँदा उनीहरु सच्चिनु पर्ने बताए ।
अहिलेको शासकीय स्वरूपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको उनको भनाइ छ । भट्टराईले कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा राम्रो काम गरिरहेको बेला उनलाई पूरा अवधि काम गर्न नदिएर किन हटाइयो भन्ने कुरा सरकारले नै जान्ने विषय भएको बताए ।