काठमाडौं । छैठौं ताम्राकार फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ताम्राकार समाजले यही चैत्र १६ र २३ गते शनिबार सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
ललितपुरका विभिन्न समाजका खेलाडीको सहभागी रहने उक्त प्रतियोगितामा खेलाडीलाई जुजु वेयर्सद्वारा जर्सी प्रायोजन गरिएको छ । समाजले यसअघि पाँच संस्करणको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । समाजका अनुसार छैठौँ संस्करणको प्रतियोगिताका लागि विभिन्न छ वटा उद्योग र कम्पनीहरूले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेको कम्पनीकै नामबाट टिमको नाम कायम रहने जनाइएको छ । प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ७० भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने छन् ।
टिम प्रायोजन गर्ने उद्योग र कम्पनीहरूमा विके सुनचाँदी पसल, तिछुगल्ली स्टोर्स, दिल ह्यान्डीक्राफ्ट, ओरियन इलेक्ट्रिकल, मिलन ज्वेलर्स र उग्रचण्डी पार्टी भेन्यु रहेका छन् । विके सुनचाँदी पसल गत संस्करणका विजेता हुन् । विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टोलीलाई स्वर्गीय मोहनदास ताम्राकारको परिवारद्वारा नगद पुरस्कारको प्रायोजन गरेका छन् । प्रतियोगिताका लागि करिब नौ लाखजति खर्च लाग्ने अनुमान छ ।
ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागि प्रायोजित कम्पनीबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टिस म्याच, प्रोमोस्नल भिडियोलगायतका कार्यहरू भइसकेका छन् । उक्त प्रतियोगिता अवधिमा अन्डर १४ विधामा प्रतिस्पर्धा हुनेछ भने महिला खुला तथा भेट्रान टिमले पनि मैत्रीपूर्ण खेल खेल्ने छन् । यस प्रतियोगिताका म्यान अफ द म्याच प्रायोजक टेलजी नेपाल र एटलिट ल्यान्ड, एक्सिलेन्ट टाइटल प्रायोजक एक्स स्टेप नेपाल र एटलिट ल्यान्ड, अन्डर १४ टिम प्रायोजक ताम्राकार समाज अस्टे«लिया, बद्रीको हल्वाई, सेयर प्रो सेक्यूरिटिज र ग्रेस इन्टरन्यास्नल रहेका छन् । साथै, अन्य प्रायोजक लक्ष्मी सनराइज बैंक, केके मार्ट, अल्फाइन इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेड, सम्झना ल्याबोरेटोरी एन्ड क्लिनिक प्रालि, उत्तम स्पेसल टी, लक्ष्मी सनराइज क्यापिटल, ओगस, ट्वान्टी फोर्टी, फेस एन्ड बडी नेपाल, बाराही फ्रेम्स र बज्र बोटलर टे«डर रहेका छन् । साथै, मेडिकल पार्टनरका लागि अल्का अस्पताल रहेको छ ।