काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोशी प्रदेश मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेकोे छ । दलित, जनजाति, अनाथ तथा विपन्न वर्गका करिब एक सय ५० बालबालिकालाई निःशुल्करूपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरूको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोगस्वरूप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।