काठमाडौं । ज्योति विकास बैंकल २०८१ चैत्र ४ गतेदेखि १० गतेसम्म मनाइएको ग्लोबल मनी २०२५ अभियानअन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी विक २०२५ को मुख्य नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमारो‘ भन्ने विषयवस्तुमा केन्द्रित भई युवा वर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरूमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको बैंकले जानकारी दिएको छ । बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । यस अभियानमार्फत करिब एक हजार जनाभन्दा बढी व्यक्तिहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
सो कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयअन्तर्गत रहेका विभिन्न शाखा कार्यालयमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरू, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपीसम्बन्धी ज्ञानलगायतका विषयलाई समावेश गरी १५ वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनी विक अवधिभर बैंकका सामाजिक सञ्जालहरूमा विभिन्न सामग्रीहरू प्रकाशित गर्ने तथा प्रभातफेरी कार्यक्रमहरू आयोजना गरी विभिन्न वित्तीय सूचनाहरू पनि प्रवाह गरेको छ । फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवद्र्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सिप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५४ वटा न्यानो नानीमार्फत हरेक वर्ष १९९८ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड रूपैयाँ कर तिरेको छ । साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब १५ करोड करस्वरूप बुझाइसकेको छ ।
बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।