काठमाडौं । गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्णरूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेसनहरू स्थापना गरेको छ । गोगोरोले आफ्नो प्रतिबद्धताअनुरूप स्मार्ट स्कुटरको बिक्री गर्नुअघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो ।
स्मार्ट मोबिलिटीमा नयाँ युगको रणनीतिक सुरुवातको रूपमा प्रत्येक दुईदेखि तीन किलोमिटरमा कम्पनीले ४५ स्वाप स्टेसनहरू सञ्चालन गरेको हो । यसले चार्जिङको लागि पर्खिने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्ने जनाइएको छ । केवल छ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार स्वाप स्टेसन चौबीसै घण्टा सञ्चालनमा रहनेछ । स्वाप स्टेसनहरूमा गोगोरो ब्याट्रीद्वारा सञ्चालित ईन–बियुल्ट युपीएस प्रणाली उपलब्ध छ । जसले ग्राहकहरूलाई बिजुली अवरोधको अवस्थामा समेत सात दिनसम्म सञ्चालन सुनिश्चितता गर्छ ।
गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरूमध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्षरूपमा सम्बोधन गर्नेछ । हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको र यो बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ ।