काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबीवार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अतिदुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरूमा पनि बेबीवार्मर प्रदान गरेको हो ।
ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थपोस्टमा बेबीवार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका वडा नं ०२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका वडा नं ५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबीवार्मर जडान गरिएको छ । यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं २, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबीवार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबीवार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरू पनि थप उत्साहित भएका छन् । विभिन्न कार्यक्रममार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबीवार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबीवार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत यी चार वटा अस्पताल तथा बर्थिंङ सेन्टरसहित हालसम्म देशभर ५९ वटा बेबीवार्मर मेसिनहरू प्रदान गरिसकेको छ । यी उपकरणमार्फत हरेक वर्ष करिब दुई हजार ६५ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयंगम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ । साथै, हालसम्मको योगदानले करिब १० हजार तीन सय २५ भन्दा बढी शिशुहरू प्रत्यक्षरूपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।