काठमाडौं । सामाजिक सूरक्षा कोषमा हालसम्म ७७ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ । २०८१ असार मसान्तसम्म कोषमा योगदान रकम ५८ अर्ब २९ करोड रुपैयाँ संकलन भएको थियो । त्यसयता योगदान रकम साढे नौ महिनामा १९ अर्ब दुई करोड ८६ लाख रुपैयाँ थपिएकोे छ । जुन असार मसान्तको तुलनामा ३२ दशमलव ६४ प्रतिशत धेरै हो ।
कोषका अनुसार मासिक दुई अर्ब हाराहारी योगदान कोषमा संकलन हुँदै आएको छ । गत पुस महिनासम्म ७१ अर्ब ९५ करोड योगदान रकम संकलन भएकोमा माघमा ७३ अर्ब ८३ करोड रुपैयाँ र फागुनमा ७५ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो ।
कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भए सँगै योगदान रकममा वृद्धि भएको बताएका छन् । उनले कोषमा सूचीकृत हुने योगदानकर्ताहरु मध्ये सबैभन्दा धेरै औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार रहेको बताए । कोषमा पाँच लाख ७३ हजार १५ जना योगदानकर्ता र २० हजार तीन सय २५ जना रोजगारदाता सूचीकृत भएका छन् । उनीहरुबाट उक्त रकम संकलन भएको हो । अर्कोतर्फ समिक्षा अवधिमा औपचारिक क्षेत्रबाट ६० अर्ब ७७ करोड २० लाख रुपैयाँ, वैदेशिक रोजगारीको क्षेत्रबाट दुई अर्ब ३२ करोड २० लाख रुपैयाँ, अनौपचारिक ३३ लाख ६८ हजार र स्वरोजगारमा रहेका ५१ लाख ८७ हजार रुपैयाँ योगदान गरेका छन् ।
२०७५ मंसिर ११ गते देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गते देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाई छ । पछिल्ला समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आवद्धता गरे सँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आवद्ध गरेको हो । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषयमा आवद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुदै गएको बताइन्छ । त्यस्तै, कोषले भदौ देखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरुलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्न गएको कोषका अधिकारीहरु बताँउछन् ।यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आवद्ध हुन सक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आवद्ध हुने आउने क्रम चलिरहेको बताइएको छ ।
कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुदाँ सोहि अनुरुप काम गर्दै समेत आएको छ । सोहि क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार ,स्वास्थ्य तथा मातृत्व योजना अन्र्तगत एक अर्ब ८३ करोड सात लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत १७ करोड ९४ लाख , आश्रित परिवार सुरक्षा योजना अन्र्तगत २१ करोड ९५ लाख, वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ११ अर्ब ४३ करोड ११ लाख दावी गरेका छन् ।
औषधि उपचार ,स्वास्थ्य तथा मातृत्व योजना अन्र्तगत ९७ हजार पाँच सय ३४ जना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्र्तगत पाँच हजार एक सय २२ जना , आश्रित परिवार सुरक्षा योजना अन्र्तगत छ सय ८१ जना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत एक लाख तीन हजार तीन सय ८७ जनाले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । कुल दुई लाख छ हजार सात सय २४ जनाले १३ अर्ब ६६ करोड रकम दाबी भुक्तानी गरेका छन् । योजना अनुरुप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पुरा भए/नभएको अध्यययन पछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम मध्ये रोजगारदाताकोतर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जन.जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना , आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना र गत आर्थिक वर्ष २०८०/८१ मा नौ लाख ७९ हजार एक सय छ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू गर्दै आएको छ ।
कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वाट स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाईन्छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ । कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिन सक्ने सुविधा प्रदान गरेको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटी अन्र्तगत भने कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधीको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गते देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गते देखि योगदान रकम संकलनको थालनी गरेको थियो ।