काठमाडौं । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको होटल पौवाले यही चैत्र २५ गतेदेखि २९ गतेसम्म सबै शाखामा स्वाद उत्सव आयोजना गर्न लागेको हो ।
सो उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ । उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पारिने छ । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ ।
‘यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो’, पौवाका ब्रान्डिङ प्रमुख विष्णु भण्डारीले भने । उनका अनुसार स्वाद उत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।
नौ वर्षअघि विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । हाल पौवाका १८ वटा शाखा पुगेका छन् । जहाँ सात सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको जनाइएको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ । पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्रान्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको जनाएको छ ।