काठमाडौं।निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले मिटरब्याजको धन्दालाई ढाकछोप गर्न काठमाडौं महानगरपालिका वडा.नं २ कार्यालयमा किर्ते र जालसाजी कार्य गरेको पाइएको छ । लमजुङ मूल घर भए पनि हाल काठमाडौं महानगरपालिका वडा नं २ सरस्वतीस्थान बस्ने मिश्र विगत लामो समयदेखि मिटरब्याजको धन्दामा लाग्दै आएको र त्यही सिलसिलामा उनले कैलाली मुलघर भई हाल कुपण्डोल बस्ने एजुकेसनल कन्सल्टेन्सी सञ्चालक यमप्रसाद तिवारीकी श्रीमती सुमित्रादेवी तिवारीलाई २०७८ चैत १९ गते ललितपुर जिल्ला छम्पी गाविस वडा नं ४ (ख) को कित्ता नं ६३८ नम्बरको जग्गा ०–१३–२–२ र सोही स्थानको ६३९ कित्ता नम्बर रहेको ०–१४–३–० क्षेत्रफलको जग्गा धितो बन्धकका रूपमा राजीनामा पास लिएका थिए र तिवारीलाई ६२ लाख ७५ हजार रुपैयाँ दिएका थिए तर ९३ लाख ६७ हजार रुपैयाँको थैली बनाइएर कागज बनाइएको थियो ।
श्रीमती तिवारीको जग्गा दिए पनि मिश्रले यम तिवारीको नामको खाताबाट ८० लाख रुपैयाँको चेक लिएका थिए । पछि त्यो व्यक्तिगत चेक फिर्ता गरेर नेचुरल इनर्जी नामको कम्पनीको ४० र ४५ लाख गरी ८५ लाखको चेक लिएका थिए । उक्त चेक लिएका थिए । उक्त नेचुरल कम्पनीमा तिवारीको ९५ प्रतिशतभन्दा बढी सेयर रहेको छ । पूर्वसीईओ मिश्रले आफ्ना व्यावसायिक साझेदार दैलेख स्थायी घर भई हाल नक्सालतिर बसोबास गर्ने टेकबहादुर विश्वकर्मालाई नेचुरल इनर्जी इन्भेस्टमेन्ट कम्पनीको व्यवस्थापक बनाई सरोकारवाला तिवारीसँग कुराकानी र सम्पर्क केही नगरी उनै विश्वकर्मासँग मिलेर गत पुस १२ गते कामनपा वडा नं २ को कार्यालयमा गई जालसाजी र किर्ते गरी तिवारीसँग रद्द गर्नुपर्ने करारनामा रद्द गरेका हुन् ।
पूर्वसीईओ मिश्रसँग उक्त कारानामा रद्द गर्ने व्यवस्थापक भनिएका विश्वकर्मा र गोरखा अजीरकोट ४ मा रहेको समृद्धि बहुउद्देश्यीय पशुपन्छी तथा कृषि फर्ममा कर्जा सुरक्षण कोषका पूर्व सीईओ मिश्रका छोरा हाल अस्टे«लिया निवासी आयुस मिश्र साझेदार रहेका छन् । छोरो आयुसलाई टेकबहादुरको उक्त फर्म साझेदार राखे पनि सबै कामचाहिँ पूर्वसीईओ मिश्रले नै गर्दै आएका छन् । उनी सीईओ हुँदा अनुदान दुरुपयोग गर्न उक्त फर्म खोलिएको थियो ।
पूर्वसीईओ मिश्रले २४ प्रतिशत ब्याजमा ६२ लाख ७५ हजार रुपैयाँ दिएर तिवारीलाई ९३ लाख ६७ हजार रुपैयाँको थैली बनाई कागज बनाएको, ब्याजबापत अग्रीम २६ लाख रुपैयाँ लिएको, चलनचल्तीमा डेढ करोड मूल्य पर्ने छम्पीको २८ आना जग्गा पास गरेर लिएको, नेचुरल इनर्जी इन्भेस्टमेन्ट प्रालिको नामको ८५ लाख रुपैयाँको चेक लिएको, पछिल्लो समय तेरो सबै व्यवसाय डुबाइदिन्छु भनी धम्की दिनेगरेको र लेनदेन गरिएका पात्र यमप्रसाद तिवारीसँग बोलचाल समेत बन्द गरी आफैँ खडा गरेको बिचौलिया टेकबहादुर विश्वकर्मासँग तिवारीसँगको कारोबारका विषयमा अनधिकृतरूपमा सहमति सम्झौता, करारनामा रद्दजस्ता किर्ते र जालसाजीपूर्ण कारोबार गरेको थाहा भएको छ ।
पूर्वसीईओ मिश्रले गरेको उक्त किर्ते कारोबारलाई काठमाडौं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गत पुस १२ गते स्वीकृत गरे पनि अहिले मात्र उक्त धन्दा खुल्न आएको हो । सुकिला मुकिला भएर हिड्ने र आफूले आफैँलाई प्रतिष्ठित व्यक्ति कहलाएर समाजलाई दिग्भ्रमित बनाएर आफ्नो स्वार्थसिद्ध गर्न जस्तोसुकै हर्कत गर्न पछि नहट्ने दूषित विचारका पूर्वसीईओ मिश्रले सरोकारवाला तिवारीका विकल्पमा शिखण्डीका रूपमा उभ्याएको टेकबहादुर विश्वकमासँग यस बारेमा सम्पर्क गर्दा तिवारीलाई जोगाउन खोज्दा मिश्रले आफूसँग उल्टै २० लाख रुपैयाँको चेक लिएको बताएका छन् । तर उक्त चेक उनीहरुको फार्म हाउसको कारोबारसँग सम्बन्धित रहेको बुझिएको छ ।
मिश्र र तिवारीबीचको कारोबार विश्वकर्माले नै गराएको र पछिल्लो समय मिश्रले तिवारीसँग गर्नुपर्ने सबै सहमति सम्झौता आफ्नै छोराको साझेदार विश्वकर्मासँग गरेर तिवारीसँग झार्ने र खाने नीति बनाएको बुझिएको छ । यसबारेमा पीडित पक्षका तिवारीसँग सम्पर्क गर्दा मिश्रसँग मेरो कारोबार थियो तर मलाई थाहै नदिई मेरो सहमति हस्ताक्षर उपस्थिति र मन्जुरीविनै यसरी करारनामा रद्द गर्नु जालसाझी हो, किर्ते हो भनी प्रतिक्रिया दिएका छन् भने मिटरब्याजी एवं कीर्ते कारोबार गरेको आरोप लागेका पूर्वसीईओ मिश्रसँग सम्पर्क गर्दा उनले टेकबहादुर विश्वकर्मासँग करानामा गरेकोले साक्षी तिवारीलाई नबोलाई विश्वकर्मासँगै करारनामा रद्द गरेको बताए ।सरोकारवाला व्यक्ति तिवारीकै श्रीमतीको जग्गा बन्धक राखेको, करारनामा गर्दा तिवारी नै साक्षी बसेको कारणहरूले तिवारीको उपस्थिति, मञ्जुरी वा सहमतिबिना करारनामा कसरी रद्द हुन सक्छ भन्ने आर्थिक दैनिकको प्रश्नमा भने मिश्रले जवाफ दिन मानेनन् ।