काठमाडौ । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको म्यानमारमा गएको छ । नेपाली सेनाका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र छ जना क्रु–मेम्बरसहित कुल २२ सदस्यीय टोली बुधबार नेपाली सेनाको सिएन–२३५ सिएएसए विमानमा म्यानमार गएको हो । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ ।