काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्नेसम्बन्धी समझदारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधबार थाइल्यान्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र थाई उद्योग महासंघका अध्यक्ष क्रियेङ्ग्राई थेननुकुलले सम्झौतामा हस्ताक्षर गरेका छन् । लगानी तथा व्यापार प्रबर्द्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो ।
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्यान्डको लगानी भित्र्याउन सहयोग गर्ने परिसंघका अध्यक्ष अग्रवालले बताए । लगानी प्रबर्द्धन गर्न सहयोग गर्नेगरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए । परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ ।
दुई संस्थाबीच भएको समझदारी पत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरू सहभागी थिए ।