काठमाडौं, साउन १४
नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था गरेको छ । कम्पनीका अनुसार टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड स्टार४१२ह्याक्स प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट स्टार४१२ह्याक्स डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।
यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने कम्पनीले जनाएको छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज उक्त यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।
त्यसैगरी नयाँ सिम एक्टिभेट गर्न हाल १४१५ मा कल गरी फस्ट कल एक्टिभेसन (एफसिए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार१४१४ह्याक्स डायल गरी एफसिए गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । नेपाल टेलिकम एप र कम्पनीको वेबसाइटमार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्ज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।