काठमाडौं । वैदेशिक लगानीको लागि उपयुक्त वातावरण बन्न नसकेको द्विविधाबीच पनि लाभांश वितरण भने सकारात्मक रहेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा नौ अर्ब १७ करोड ८२ लाख लाभांश वितरण गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा नौ अर्ब एक करोड ८४ लाख लाभांश वितरण गरिएको थियो ।
विभागका निर्देशक एवं सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार विदेशी लगानीकर्ताले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्यान्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक रहेका छन् ।
विभागले फागुनमा ४८ करोड १३ लाख लाभांश वितरण गर्दा साउनदेखि फागुनसम्म नौ अर्ब १७ करोड ८२ लाख लाभांश वितरण गरेको छ । लाभांश वितरणको क्रममा चालू आवको साउनमा छ करोड ४० लाख, भदौमा चार करोड ७६ लाख, असोजमा तीन करोड सात लाख र कात्तिकमा ३० लाख प्रदान गरिएको छ । साथै मंसिरमा सात करोड ८७ लाख, पुसमा एक अर्ब ५५ करोड २० लाख र माघमा छ अर्ब ९२ करोड नौ लाख लाभांश वितरण गरिएको छ । त्यस्तै विभागले आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख र गत आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड ४५ लाख लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षमा सबैभन्दा बढी उत्पादन त्यसपछि क्रमशः सूचना प्रविधि, उत्पादन, पर्यटन र सेवा क्षेत्रमा लाभांश वितरण गरेको छ । समीक्षा अवधिमा उत्पादन क्षेत्रमा आठ अर्ब ६९ करोड ६७ लाख, ऊर्जा क्षेत्रमा ११ करोड ७९ लाख, सूचना प्रविधि क्षेत्रमा १० करोड ९७ लाख, पर्यटन क्षेत्रमा आठ करोड ७२ लाख र सेवा क्षेत्रमा ६६ लाख लाभांश वितरण गरेको छ ।
त्यस्तै सरकारले विदेशी लगानी आएपछि रोयल्टी समेत प्राप्त गर्नेगरेको पाइन्छ । विभागलाई चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक अर्ब एक करोड १९ लाख रोयल्टी प्राप्त गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रोयल्टी ५२ करोड ३८ लाखले बढी हो । अर्कोतर्फ चालू आवको माघ मसान्तसम्मको अवधिमा ७१ करोड ९२ लाख र पुस मसान्तसम्मको अवधिमा ६० करोड ८३ लाख रोयल्टी प्राप्त भएको थियो । चालू आवको फागुनमा मात्रै भने २९ करोड २७ लाख रोयल्टी प्राप्त भएको छ । यसैबीच नेपालमा लगानी गरिसकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउन तथा लाभांश लैजानको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।