काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको बिक्री खुला भएको छ । बैंकले सोमबारदेखि १० वर्षे अवधिको ‘सात प्रतिशत एनआईसी एसिया डिबेन्चर २०९१’ को बिक्री खुला गरेको हो । ऋणपत्रको वार्षिक सात प्रतिशत व्याजदर तोकिएको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । सोमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये एक लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । यस ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते हुनेछ ।
बैंकको ऋणपत्रलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन इस्युअर रेटिङ ट्रिपल बि प्लस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ । यो ऋणपत्रमा आर्जित व्याज र रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि करकट्टा गरी भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।