काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तालाई लक्षित गरी एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ ।
बैंकका अनुसार केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।
एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यसले विशेषगरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्यलगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ । कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन् ।
बैंकका अनुसार एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकीमार्फत प्रदान गरिने प्रमुख सेवाहरूमा व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रूत तथा प्रभावकारी कागजी प्रक्रिया आदि रहेका छन् । इच्छुक ग्राहकहरूले प्रभु बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।