काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल कार्डको सुरुवात गरेको छ । प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले सूर्र्यज्योति केयर्स डिजिटल कार्ड र इ–कर्जाका फाइदाहरू, यसका मापदण्ड र सेवा लिने विधिका बारेमा वृस्तित जानकारी दिनुका साथै कम्पनीले सदैव नविनतम प्रविधिमा जोड दिदै सेवाहरूमा परिमार्जित र परिस्कृत गर्दै लैजाने कुरामा जोड दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्राहकको हित र सेवाका लागि सधै समर्पित भएर अगाडि बढेको बताएका हुन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्थापना कालदेखि नै विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गरी आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आइरहको छ । साथै, कम्पनीद्वारा बीमितहरूलाई अझ थप सरल तथा सहज किसिमले सेवा दिने हेतुले बीमालेखबापत प्राप्त हुने कर्जासम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइनमार्फत लोन लिन सकिने ए कर्जा प्रस्तुत गरेको छ । जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमालेखको सर्त तथा सुविधाअनुसार बीमा जारी मितिबाट तीन वर्ष पूरा भई तीन वर्षको बीमाशुल्क प्राप्त भएपश्चात् बीमालेखअन्तर्गत कर्जा रकम दिइने प्रावधान रहेको छ । तीन वर्षपश्चात बीमालेखमा जम्मा हुने नगद मूल्य रकमबाट बीमितको आवश्यकताअनुसार उक्त रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिने प्रावधान रहेको छ ।
कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रक्रियाअनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारमहरू भरी आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिनुपर्ने र आवेदन दिएको मितिबाट एक वा दुई दिनभित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ । यस प्रविधिअनुसार अब बीमितहरूलाई आफ्नो बीमालेखबापत कर्जा लिन चाहेमा अनलाइनमार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि आवेदन दिन सकिने र एक क्लिकमा रियल टाइममा नै आफ्नो खल्ती वालेटमार्फत कर्जा रकम प्राप्त गर्न सकिने छ प्रावधान रहेको छ । यस अनलाइन प्रक्रियामार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजार रुपैयाँसम्म मात्र प्राप्त गर्न सकिने छ ।
उक्त अवसरमा कम्पनीले सूर्यज्योति केयर्स डिजिटल कार्डको पनि सुरुवात गरेको हो । जसअनुसार कम्पनीले सूर्यज्योति केयर्स डिजिटल कार्डमार्फत आफ्ना बीमित तथा अभिकर्ताहरूलाई सुविधा दिने उद्देश्य राखी एक नवीन सेवाको सुरुवात गरेको हो । यस सुविधाअन्तर्गत कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एपमार्फत सूर्यज्योति केयर्स डिजिटल कार्ड प्रदान गरिने छ र सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पतालहरू, स्वास्थ्य परीक्षण प्रयोगशालाहरू, होटलहरू, शैक्षिक संस्थाहरू, डिपार्टमेन्ट स्टोरलगायत थुप्रै सेवा प्रदायक संस्थासँग सम्झौता गरिएको छ । सूर्यज्योति केयर्स डिजिटल कार्डअन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेकोअनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्ट्रर भएको हुनुपर्छ । सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुटबारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक, सुशील देव सुवेदीले ‘उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने जुन यात्राको थालनी सूर्यज्योति लाइफले गरेको छ । यो अत्यन्तै प्रशंसनीय, कदरयोग्य छ । यो कम्पनीको मिसन सफल होस्, आगामी दिनमा पनि यस्तै राम्राराम्रा गतिविधि गर्न सक्नुहोस्, नवप्रवद्र्धन र नवीनतम् चिजको आविष्कार विस्तार विकासमा बीमा प्राधिकरण सदैव साथमा उभिएको छ र यस्ता विषयहरूमा बीमा प्राधिकरणले आफ्नो अभिभावकत्व निर्वाह गर्नेछ भन्ने भनाइ उक्त कार्यक्रममा व्यक्त गरे ।
बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझाले आफ्नो अमूल्य मत व्यक्त गर्दै सूर्यज्योति लाइफले आज शुभारम्भ गरेको यस डिजिटल सर्भिसअन्तर्गत पस्केका दुईवटा सेवाहरू एकदमै प्रशंसनीय र आम बीमितहरूका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । संसारका कयौं देशले विगतबाटै नै गरिरहेको अभ्यासलाई सूर्यज्योतिले नेपालको बीमा बजारमा अवलम्बन गरेको छ, इन्स्योरेन्स प्रोडक्टलाई लिक्विड बनाउने गरी आकर्षक फिङ्गर टिपबाट लोन लिने मेकानिज्म जो सुरु गरेको छ यो धेरै राम्रो हो । साथै, यसले बीमितलाई आफूले बीमा गर्दाखेरी भोलिका दिनमा मलाई कुनै बेला इन्स्ट्यान्ट निड भयो भने बीमा कम्पनीसम्म नपुगे पनि हुने रहेछ भन्ने एउटा सन्देश दिन्छ भन्ने राय अध्यक्ष ओझाले व्यक्त गरे ।
सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए । हामी अग्रणी हुन चाहन्छौं जीवन बीमा क्षेत्रमा नयाँ–नयाँ प्रविधिमैत्री सेवाहरू ल्याउँदै जाने र परिमार्जित र परिस्कृत ढंगले अघि बढ्दै जाने भन्दै कार्यक्रममा उपस्थित कम्पनीका कर्मचारी, सञ्चालक, अभिकर्ता, साझेदार संस्था, नियमनकारी निकायका पदाधिकारीहरू, सञ्चारकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिँदै कृतज्ञता व्यक्त गरे ।
हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पुँजी पाँच अर्ब एक करोड, कुल लगानी ४३ अर्ब ६० करोड रुपैयाँ, जीवन बीमा कोष ३८ अर्ब तीन करोड, जारी बीमालेख संख्या ३२ लाख २३ हजार नौ सय ६१, प्रशिक्षित अभिकर्ता संख्या एक लाख दुई हजार एक सय र देशभर रहेका एक सय ७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको छ ।