काठमाडौं । गत २८ गते साँझ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति प्रकाशन गरी नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईँ नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन–प्रसारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ भनेका थिए ।
त्यतिबेला नेपालका समाचार माध्यमहरूले प्रसाईँ भारतको आसाममा पक्राउ परेको समाचार दिएका थिए । प्रसाईँलाई खोज्न गएको प्रहरी टोली तथा प्रसाईँसँग सम्बन्धित सूत्रहरूको सूचनाका आधारमा ती समाचार आएका थिए । उनी पक्राउ परेको समाचार सत्य थियो ।
नेपाल प्रहरीको सादा पोसाकको टोलीले उनलाई आसाममा लुकेर बसेको घरमा घेरा हालेर नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट अर्थात् २९ गते बिहान निजी नम्बर प्लेटको गाडीमा राखेर काँकडभिट्टा नाका हुँदै भद्रपुर ल्याएर बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइयो र सोही दिन उनलाई अदालतले अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आसाममा उल्फा विद्रोही बेहोरेको त्यहाँको प्रहरीलाई नेपालको अब हुने प्रधानमन्त्री भनी आफूलाई चिनाएपछि तीन चड्कन खाएर नियन्त्रणमा परेका प्रसाईँले आफूले आत्मसमर्पण गरेको आत्मरतिको प्रचारबाजी गराए पनि त्यस्तो भएको पनि होइन । जे भए पनि नेपालको राजनीतिक वृत्तमा बढ्दै गएको लफङ्गोवादको नाइके भनिएका प्रसाईँ पक्राउ परेका थिए तर प्रहरी प्रवक्ता आचार्यले पक्राउ गरिएको होइन, त्यस्तो समाचार नदिन वक्तव्यबाजी गरेर दिउँसै रात पार्ने दूष्प्रयास गरेका थिए । उनले त्यस्तो दूष्प्रयास गरेर आफ्ना प्रणेता पूर्वआईजीपी बसन्तबहादुर कुँवरलाई समेत माथ गर्ने प्रयास गरेका थिए ।
आचार्यलाई प्रवक्ता बनाउने तत्कालीन आईजीपी कुँवरले सहकारी ठगी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नभेटिएको भनी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बयान नै दिएका थिए । उनले निर्दोष करार गरेका लामिछाने अहिले त्यही सहकारी ठगी काण्डमा जेलको हावा खाइरहेका छन् । आफ्नो फाइदाका लागि बर्दी लगाएर झुट बोल्न सिकाउने काम प्रहरी संगठनका उतिबेलाका प्रमुख कुँवर आफैँले सुरुवात गरेर सिकाइएकाले उनका प्रवक्ताले त्यसलाई निरन्तरता दिनु कुनै अनौठो त मानिँदैन तर समाजको पथप्रदर्शक मानिने प्रहरी प्रवक्ताले यसरी सफेद झुट बोल्दा प्रहरी संगठनको तल्लो तहसम्म आफ्नो फाइदाका लागि झुट बोल्दा जायज हुने सन्देश जाने मात्र नभएर समाजमा पनि झुटैझुटको जालो फैलिँदै जाने डर बढेको छ ।
प्रहरी प्रवक्ताले झुट बोल्ने हुँदैन भन्ने सन्देश दिनुपर्ने हो तर झुट बोल्दा केही हुँदैन, फाइदाका लागि झुट बोल्नु जायज हुन्छ भन्ने सन्देश प्रवाह गरिएको छ । पक्राउ गरिएको कुराको प्रहरी प्रवक्ताले खण्डन गर्नुपर्ने कुनै आवश्यकता थिएन । चार घण्टापछि प्रसाईँलाई पक्राउ गरिएको वक्तव्य उनले नै दिनुपर्ने थियो र दिएका छन् । त्यतिन्जेल मौन बसेको भए केही बिग्रिने थिएन । प्रसाईँ प्रहरी नियन्त्रणमा परिसकेपछि प्रवक्ताले पक्राउ नपरेको भनी सफेद झुट वक्तव्य दिएपछि गत १५ गते तीनकुनेमा प्रहरी घेरामा रहेको प्रसाईँलाई कसले संरक्षण दिएर सीमा कटाएर भारत पुर्यायो भन्ने प्रसङ्गलाई पनि शंकाको घेराभित्र तानेको छ ।
यसअघि प्रसाईँलाई उनका ज्वाइँ नाता पर्ने तत्कालीन आईजीपी बसन्त कुँवरले गोप्य सूचना दिनेगरेको र भगाउने जोगाउने गरेको प्रहरी संगठनभित्रै आशंका गरिएको थियो । यस पटक त्यो शंकाको सुई कुँवरले बनाएको प्रवक्ता आचार्यतिर सोझिएको छ । त्यसो त प्रवक्ता आचार्य प्रहरीभित्र ‘ओभर स्मार्ट’ नै मानिन्छन् । ‘ब्रेक सू’को नाममा भएको सुन तस्करी काण्डको अध्ययन गर्न तत्कालीन आईजीपी कुँवरले आर्चायलाई जिम्म दिएर हङकङ पठाएका थिए । उनले त्यहाँ गएर को–कोसँग भेटे, के–के गरे उक्त सुनकाण्डमा उनको अनुसन्धानले राष्ट्रलाई के दियो, उनले के पाए भन्ने कुरा पनि कतै छिपेको छैन ।
यसै प्रसङ्गसँग मेल खाने एउटा घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक होला । केही वर्षअघिको कुरा हो । अख्तियार प्रमुख प्रेम कुमार राईले आफ्ना एक जना विश्वासिला व्यक्तिलाई दूरदराजका ग्रामीण जनतालाई लाखौँ रुपैयाँको चिठ्ठा परेको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन चाहनेहरूले कसरी ठगिरहेका छन् भनेर घटना सुनाएछन् र उपत्यका अपराधले त्यसलाई हेरिरहेको छ, चन्द्रकुवेर खाफुङ त्यहाँको प्रमुख छन्, मैले भनेको भनेर उनलाई भेटेर सहयोग गरिदिन आग्रह गरेछन् । ती व्यक्तिले हुन्छ, मलाई पनि त्यहाँ जानु थियो भनेर गएछन् । त्यहाँ उनले दुईवटा कुरा गर्नुपर्ने भयो । एउटा अन्तर्राष्ट्रिय गिरोहले तपाईँलाई यति रुपैयाँको चिठ्ठा परेको छ भनेर मानिसलाई बोलाएर त्यो रकम भन्सारको गोदाममा अड्किएको छ, त्यो निकाल्न दुुई÷चार लाख कति हो नभई भएन, अनि तपाईँले पाउनुहुन्छ भनेर रकम लिने र बेपत्ता हुने चलन रहेछ । बेलो समाउँदै जाँदा रोमानियासम्म पुगेको रहेछ । त्यो बारेमा जानाकारी लिनु थियो र अर्कोचाहिँ आफ्नो व्यक्तिगत कुरो गर्नु थियो । पहिले मोटामोटीरूपमा अघिल्लो पटक नै खापुङसँग भएको थियो तर दोस्रो कुरो राख्न जाँदा खापुङ नभेटिएर उनका ‘ट्वाइसी’ दिनेश आचार्यसँग भेटेपछि उनले कुरा राख्दैमा उनले निवेदक को हो भनेर सोधेछन् र उनले कमला कमला भनेछन् फेरि सोधेछन् तपाईँ नै हो भनेर अनि जवाफ दिएछन् । आँखा कमजोेर छ कि स्मरण शक्ति कमजोर हो भनेर त्यहाँ अख्तियार प्रमुखले पठाएर गएका व्यक्ति पनि कुल्ली या मजदुर पक्कै थिएनन् होला ।
आचार्यको उत्ताउलो र उचड्दो कुरो सुनेपछि उनी त्यहाँबाट बाहिरिएछन् । प्रहरीले ‘मुस्कानसहितको सेवा’ भन्ने नारा दिए पनि आचार्यले सेवाग्राहीसँग गर्ने व्यवहार कस्तो रहेछ भन्ने कुरा यसैबाट झल्किन्छ । उनका लागि यस्ता घटना ख्यालख्यालजस्ता होलान् तर व्यावहारिकरूपमा निकै अर्थपूर्ण रहन्छन् । आफैँ आचरण सुधार्न नसक्ने ढोँगी, घमण्डी व्यक्ति प्रहरीको प्रवक्ता भएपछि मातहतको प्रहरी प्रशासनमा कस्तो सन्देश जान्छ र समाजमा त्यसको असर कस्तो पर्छ भन्ने कुरा राज्य सञ्चालन गर्नुपर्नेहरूले सोच्नुपर्ने हो ।
तीनकुने घटना प्रहरीको बेइमानीको उपज थियो । त्यो घटनालाई उत्तेजक बनाउन प्रहरीको कुन खेमाले कोसँग सम्झौता गरेको थियो होला ? त्यो आफैँमा छानबिनको विषय हुन सक्छ । लोकतन्त्रमा सभा, जुलुस, वाक स्वतन्त्रता वा निर्बाद आवतजावत कसैले रोक्न पाइँदैन । तर तीनकुनेमा सभा सुरु नहुँदै सभा गर्ने ठाउँमा प्रहरीले आक्रमण गर्नुपछाडिको रहस्य अझै खुलेको छैन । प्रहरीले त्यहाँ गरेको बेइमानीको सिकार झण्डै सशस्त्र प्रहरीले भोग्नुपरेको थियो । तीनकुने घटनामा साउथ इन्डियन फिल्मको हिरोको शैलीमा प्रस्तुत दुर्गा प्रसाईँलाई सजिलै सीमापार गराउने तत्व पनि खोजीनीतिको विषय बनेको छ र उनी पक्राउ परेपछि ‘समाचार नदे’ भनेर आएको प्रहरी प्रवक्ता आचार्यको प्रेस वक्तव्यका पछाडि पनि रहस्य लुकेको छैन भन्न सकिँदैन ।
त्यस्तो झुटको महापुरुष प्रहरी प्रवक्ता भएर सबैलाई सूचना दिने भएपछि सही सूचना जनताले पाउने कुरै भएन । प्रवक्ता भनेको त स्पष्ट बोल्ने, विषयवस्तुको प्रचुर ज्ञान भएको, झुटो नबोल्ने, सत्य बोल्ने, सरल र प्रस्ट बोल्ने व्यक्ति हुनुपर्ने हो । तर यहाँ त ठीक उल्टो भइरहेको छ । प्रहरीको प्रवक्ता र कसको प्रवक्ता कसको !