काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग दुई बुँदे माग राखेको छ । संघले पीजी सिट नघट्ने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात गर्नुपर्ने र हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरूले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्ने माग राखेको हो ।
साथै संघले सो माग ७२ घण्टाभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम समेत दिएको छ । संघका महासचिव डा सञ्जीव तिवारीले सोमबार एक विज्ञप्ति जारी गरी ७२ घण्टाभित्र आफूहरूको माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको सिट म्याट्रिक्समा १७ औँ बैठकले पुन थपेको सीट संख्या समेत जोडेर एक सिट पनि नघटाई भविष्यमा पनि पीजी सिट नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रक्रियाको सुरुवात हुनुप¥यो । हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरूले आठौं तह बराबरको निवृत्तिभरण तत्काल पाउनुपर्यो’, संघको विज्ञप्तिमा भनिएको छ । उल्लेखित मागहरू ७२ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक संघ देशका सम्पूर्ण चिकित्सकहरूलाई चरणबद्ध आन्दोलनमा उतार्ने समेत चेतावनी दिइएको छ ।