दोलखा । जिल्लाको सुन्दर धार्मिक तथा पर्यटकीय स्थल शैलुङ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । नव वर्ष २०८२ सालको पहिलो दिन सोमबार शैलुङ क्षेत्रमा रहेका डाँडाकाँडा आन्तरिक तथा बाह्य पर्यटकले भरिएका थिए ।
शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङ डाँडा समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको छ । शैलुङ एक सयभन्दा बढी थुम्काहरू मिलेर बनेको खुला क्षेत्र हो । यहाँ आउने आन्तरिक पर्यटकको संख्या पछिल्ला दिनमा बढ्दै गएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार सोमबार मात्रै १० हजारभन्दा बढी पर्यटकले शैलुङ भ्रमण गरेका थिए । यहाँ पुग्ने सडक बाटो सहज बनेपछि केही वर्षअघिदेखि मान्छेहरू नयाँ वर्ष मनाउन शैलुङतिर जाने गरेका छन् । सूर्याेदय र सूर्यास्त हेर्न पनि धेरै मानिसहरू शैलुङ जान थालेका छन् । यहाँबाट देखिने गौरिशंकर हिमाल, कालिञ्चोक, जिरीलगायतका दृश्यले पर्यटकलाई झनै मोहित बनाउने गरेको छ । साथै, शैलुङको चौरमा चरिररहेको चौरी र भेँडाले पनि पर्यटकको मन लोभ्याउने गरेको छ ।
यहाँको कालापानीदेखि करिब ३०/३५ मिटेनको उकालो चढेपछि देखिने सुन्दर स–साना थुम्काले मानिसलाई छुट्टै आनन्द दिलाउँछ । साथै, यहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरूको लागि मन्दिर र गुम्बा समेत रहेको छ । घुम्न मात्रै नभएर यहाँ धार्मिक पर्यटकहरू समेत आउने गरेका छन् । नयाँ वर्ष मनाउन शैलुङ पुग्नेहरूलाई सोमबार मौसमले पनि मध्ये दिनसम्म साथ दिएको थियो । तर दिउँसो ३–४ बजेपछि भने मौसम परिवर्तन आएपछि बाक्लो वर्षात्ले केही असहजिलो बनाएको थियो । वर्षाले शैलुङ पुगेका पर्यटक आफ्नो गन्तव्य फर्किन अतालिरहेका भेटिन्थे । कालापानी क्षेत्रको सडकमा साना–ठूला सवारीको चापले आवतजावत गर्नै सकस थियो ।
गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङ डाँडासम्म पुग्न पदमार्ग तथा पाँच सय मिटर लामो ग्रेटवाल निर्माण गरिएको छ । यातायातका माध्यमबाट शैलुङको बेसक्याम्प कालापानीसम्म पुगी ३५–४० मिनेटको पैदलयात्रामार्फ शैलुङ डाँडाको भ्रमण गर्न सकिन्छ । शैलुङका सबै थुम्कामा हिउँद महिनामा भने हिउँले सेताम्मे बनाउने गरेको छ ।