काठमाडौं । दराजले दराज भ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो ।
कम्पनीका अनुसार भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्स क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु नै यसको प्रमुख उद्देश्य रहेको छ । १५ महिने घुम्ती कार्यक्रमका रूपमा चल्ने यो प्रोग्राम सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ । कार्यक्रमअन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागहरूमा संरक्षित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा उनीहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
डीएफएलपी २०२५ हालै एक वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको छ । उपयुक्त उम्मेदवारमा टिमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ । आवेदन ८ वैशाखदेखि १४ दिनसम्म खुला रहने छ । इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरूबाट योग्य युवाहरूको छनोट गर्नेछ । उनीहरूलाई द्रूत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सिप, मार्ग निर्देशन तथा व्यावहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालीन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ । नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाती कर्णले दराज फ्युचर लिडरसिप प्रोग्राम आफ्नो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भएको बताइन् । कार्यक्रमअन्तर्गत अवसरका रूपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले आफूलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गरेको जानकारी दिइन् । डीएफएलपले दराजको दक्षिण एसियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवर्द्धन र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।