काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को औपचारिक घोषणा गरेको छ । काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा पत्रकार सम्मेलन गरी नाट्टाले बीआईटीएमको घोषणा गरेको हो । नेपाल पर्यटन बोर्ड र नाट्टाले संयुक्तरूपमा सो कार्यक्रमको आयोजना गर्ने भएका छन् । दुई संस्थाबीच गत चैत २२ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले हस्ताक्षर गरेका थिए । बीआईटीएम आगामी जेठ १० देखि १२ गतेसम्म काठमाडौं र लुम्बिनी–भैरहवामा आयोजना गरिनेछ । कार्यक्रमको उद्घाटन समारोह अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंस्थित पाँचतारे होटेलमा सञ्चालन हुनेछ भने जेठ १२ गते लुम्बिनीमा बीटुबी सत्र, एफएएम ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह गरिनेछ ।
कार्यक्रममा एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरिदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्यान्ड, मलेसिया, श्रीलंकालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । सहभागीहरूले वैशाख २८ भित्र अनिवार्य नाम दर्ता गर्नुपर्नेछ । वैशाख १८ भित्र दर्ता गर्ने सहभागीहरूलाई छुट समेत उपलब्ध गराइएको छ ।
साथै, कार्यक्रमका लागि प्रायोजन प्याकेजहरू समेत सार्वजनिक गरिएको छ, जसअनुसार विभिन्नस्तरमा ब्रान्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ । बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताए । यस कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने र दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उनको विश्वास थियो ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले कार्यक्रमले बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने बताए । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउने उनको भनाइ छ । कार्यक्रमकी संयोजक जिश्वाँ तुलाधर श्रेष्ठले यस कार्यक्रममार्फत लुम्बिनी र नेपालको समग्र बौद्ध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने बताइन् ।