काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवद्र्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ ।
सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । सम्झौतामा विश्वविद्यालयका अध्यक्ष डा राजेन्द्रध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नसिपको अवसर प्रदान गर्ने र उद्योग–शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ ।
दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् । सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ । दुई पक्षीय समझदारीअनुसार पारस्परिक विश्वास, पारदर्शिता र आत्मनिर्भर सहकार्यको सिद्धान्तमा आधारित रहेर काम गरिनेछ । यसैबीच मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने छ ।
आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स (एमएएस) इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म (२५ प्रतिशतदेखि शतप्रतिशतसम्म) शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । पूर्णकालीन (फुल टाइम) दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४ जीपीए स्केलमा दुई दशमलव ७५ (वा अन्तर्राष्ट्रिय समकक्षता) हासिल गरेको हुनुपर्नेछ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले यी कार्यक्रमहरूमा भर्ना हुने विद्यार्थीलाई सिट उपलब्धताअनुसार छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । आवेदन दिने अन्तिम म्याद २०२५ अप्रिल २३ सम्म रहेको छ भने छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । आवेदन अनलाइनमा उपलब्ध फाराम भरिदिन सकिन्छ । क्यान महासंघले आफ्ना सदस्यहरू माझ प्रचारप्रसार गरी इच्छुक अधिकतम व्यक्तिहरूले यी शैक्षिक कार्यक्रममा भर्ना आवेदन दिन आह्वान गर्ने बताइएको छ ।
महासंघकी अध्यक्ष घिमिरे पाण्डेले नेपालमा आईसीटी क्षेत्रको विकास र नवप्रवर्तनको संस्कृति निर्माणमा यो साझेदारी ऐतिहासिक हुने बताइन् । यस्तै, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले यो सहकार्यले विश्वविद्यालयका डिजिटल प्रविधिसम्बन्धी कार्यक्रमहरूलाई थप सशक्त बनाउने बताए । पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिसँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकता दिँदै आएको उनले जानकारी दिए । ‘अब निजी क्षेत्रको सहभागितासँगै ती कार्यक्रमहरू थप सशक्त र व्यावसायिक बन्नेछन्’, उनले भने ।