काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सहभागिता आवश्यक रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तरक्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याएका छन् ।
पर्यटनमन्त्री पाण्डेले भने, ‘पर्यटन क्षेत्रमा महिला उद्यमशीलता अब हाम्रो प्राथमिकताको विषय हो । नीति तथा कार्यक्रममार्फत यसलाई स्थापित गर्न प्रतिबद्ध छौं । गाउँमा रहेका महिलालाई डिजिटल साक्षरतामा लैजाँदा हाम्रो अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्न सक्छ ।’ उनले निजी क्षेत्र र सरकारी संयन्त्रमा विश्वासको वातावरण बनाउनु आवश्यक रहेको बताए ।
मन्त्री पाण्डले थपे, ‘हामीले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न नसकेको अवस्थामा सरकारले एक्लैले सबैथोक गर्न सक्ने अवस्था छैन् । त्यसकारण निजी क्षेत्र र सरकारी संयन्त्रबीच विश्वासको वातावरण बनाउन आवश्यक छ ।’
योजना आयोगकी सदस्य गीता कुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलाहरूलाई सशक्तीकरण गर्नुपर्ने बताएकी छन् ।
उनले भनिन् ‘१६औं योजनामा पर्यटन र प्रविधिको संयोजनलाई प्राथमिकता दिइएको छ । डिजिटल पहुँच अझै ३० प्रतिशत नागरिकसम्म पुगेको छैन, यसमा महिलाको पहुँच झनै कम छ ।’
उनले थपिन्, ‘हामीले नीति निर्माण गर्दा महिलालाई प्राथमिकतामा राखेर उनीहरूको वित्तीय पहुँच पनि स्थापित गर्न उत्तिकै जरुरी छ ।’
कार्यक्रममा सहभागी पाहुनालाई स्वागत गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाहरूको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको छ । यद्यपि उनीहरूलाई विभिन्न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने देखिन्छ ।’
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सहभागिता संख्यात्मक हेर्दा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सिमित देखिन्छन् ।
उनले भनिन्, ‘५४ प्रतिशत महिला पर्यटन क्षेत्रमा भए पनि उनीहरू अझै न्यून पारिश्रमिकमा सीमित छन् । डिजिटल सिप, वित्तीय साक्षरता र ब्रान्डिङका माध्यमबाट उनीहरूलाई नेतृत्वतर्फ लैजानु जरुरी छ ।’
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाहरूको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने औँल्याएका छन् ।
उनले भने, ‘पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिलाको संलग्नता छ । तर अझै स्वरोजगारको दायरमा र वित्तीय पहुँच पुरुषमा नै केन्द्रित छ । तिनलाई सशक्तीकरण गर्दै नेतृत्वमा ल्याउनु आवश्यक छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव लीलाधर अधिकारीले नेपालको पर्यटन प्रतिस्पर्धी क्षेत्र भएकोले डिजिटल साक्षरताको माध्यमबाट महिलाको सहभागिता र नेतृत्व क्षमतामा वृद्धि गर्नुपर्ने बताएका छन् । नाटाको जनसम्पर्क समिति प्रमुख युविका भण्डारीले महिलाको सहभागिताविना पर्यटन क्षेत्रको विकास असम्भवजस्तै भएको बताएकी छन् ।
महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले भनिन्, ‘पछिल्लो समय महिलाहरूको सक्रियता बढेको छ । उनीहरूलाई डिजिटल प्रविधिमा दक्ष बनाउनुको अर्को विकल्प छैन । यसका लागि सरकारले आफ्नो नीतिमा नै महिला पर्यटन उद्यमीलाई अनिवार्य डिजिटल तालिम दिनुपर्ने व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो ।’
डिजिटल युगमा महिला र पर्यटनु विषयक प्यानल छलफलमा विभिन्न क्षेत्रका महिला उद्यमीहरूले आफ्ना अनुभवहरू सुनाएका छन् । एफएनसीसीआईकी पूर्वअध्यक्ष भवानी राणाले पर्यटन क्षेत्रमा महिलाको निकै ठूलो योगदान भए पनि नदेखिएको बताएकी छन् ।
जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठले पर्यटनमा जलवायु परिवर्तनले ठूलो असर पारिरहेको विषयमा चिन्ता व्यक्त गरिन् ।
उनले भनिन्, ‘हिउँ पग्लिँदा र चरम मौसमका घटनाले पर्यटनमा जोखिम बढाएको छ । पूर्वाधारलाई जलवायु अनुकूल बनाउनु पर्छ ।’ कार्यक्रमको अन्त्यमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै भने ‘यहाँ प्रस्तुत सुझावहरूलाई हामीले सकारात्मकरूपमा लिएका छौं । निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौं ।’
यो अन्तक्र्रिया कार्यक्रमले डिजिटल युगमा नेपाली महिलाले पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्ने सामथ्र्य मात्र होइन, त्यसलाई संस्थागत र नीतिगत समर्थनको खाँचो रहेको स्पष्टरूपमा देखाएको छ । महिलाको आवाज, सिप र दृष्टिकोण अब केबल पर्यटनको कथामा होइन, यसको योजनाबाट कार्यान्वयनसम्मका हरेक तहमा देखिनु आवश्यक छ ।