काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले सात वर्ष अवधि तथा वार्षिक सात प्रतिशत व्याजदर भएको दुई अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आज आइतबार निष्काशन भएको छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले नौ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा वैशाख १० गते हुनेछ भने ढिलोमा वैशाख २१ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । सो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित व्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात करकट्टा गरी भुक्तानी गरिनेछ ।
बैंकको हाल सात वटै प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।