बइजिङ । चीनको राजधानी बेइजिङमा शनिबार मानिस र २१ रोबोटबीचको अनौठो हाफ म्याराथन दौड आयोजना गरिएको छ । यो दौड पहिलो पटक आयोजना गरिएको थियो ।
यो कार्यक्रम बेइजिङको दक्षिणपूर्वी यिझुआङ जिल्लामा भएको थियो, जहाँ चीनका धेरै ठूला प्रविधि कम्पनीहरू छन् । यसको उद्देश्य रोबोटिक्स र प्रविधिको दुनियाँमा चीनको प्रगति प्रदर्शन गर्नु थियो ।
ड्रोइडअप र नोएटिक्स रोबोटिक्सजस्ता चिनियाँ कम्पनीहरूका रोबोटहरूले पनि दौडमा भाग लिएका थिए । दौडमा सहभागी केही रोबोटहरू १२० सेन्टिमिटर (तीन दशमलव नौ फिट) भन्दा कम अग्ला थिए भने केही एक दशमलव आठ मिटर (पाँच दशमलव नौ फिट) सम्म अग्ला थिए ।
रोबोटले दुई घण्टा ४० मिनेटमा दौड पूरा ग¥यो भने मानिसले एक घण्टा दुई मिनेटमा दौड पूरा गरेको थियो । सबैभन्दा कम समयमा २१ किलोमिटर म्याराथन पूरा गर्ने कीर्तिमान ज्याकब किप्लिमो (५६ मिनेट ४२ सेकेन्ड)को नाममा छ । जसरी दौडको समयमा मानिसहरूलाई पानी पिउन आवश्यक पर्दछ, त्यसरी नै रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्ने अनुमति दिइएको थियो ।
दौडको समयमा मेसिनहरूलाई सहयोग प्रदान गर्ने मानव प्रशिक्षकहरू रोबोटहरूसँग थिए । केही रोबोटहरूले दौडने जुत्ता लगाएका थिए, एउटाले बक्सिङ पन्जा लगाएको थियो र अर्कोले चिनियाँ भाषामा ‘बाउन्ड टु विन’ लेखिएको रातो हातको पट्टी लगाएको थियो ।