उदयपुर (गाइघाट) । भालुको आक्रमणमा परी उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा सोमबार घाँस काट्दै गरेकी एक महिला घाइते भएकी छिन् ।
भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । स्थानीय नारायणी सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यलय उदयपुरले भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जनाएको छ । घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए । कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जङ्गल हुँदै गएको छ ।