काठमाडौं । फाइनान्स कम्पनीहरूको नाफामा सुधार देखिए पनि खराब कर्जा भने बढेर ४४ प्रतिशतसम्म पुगेको छ । सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १५ वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरणअनुसार तेस्रोे त्रैमाससम्म आईसीएफसी, मञ्जुश्री, प्रोग्रेसिभ, पोखरा, श्री इन्भेष्टमेन्ट, गुहेश्वरी, मल्टीपर्पस, सेन्ट्रल, गुडविल र नेपाल फाइनान्सहरूले नाफा कमाएका छन् । रिलायन्स, जानकी, बेस्ट, गोर्खाज र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् ।
आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ । आईसीएफसीले यस आर्थिक वर्षकोे तेस्रो त्रैमाससम्म १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यो कम्पनीको खराब कर्जा दुई दशमलव शून्य पाँच प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो फाइनान्सले तीन करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ९१ प्रतिशत थियो ।
मञ्जुश्री र प्रोग्रेसिभ फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः १७ करोड ११ लाख १९ हजार रुपैयाँ र नौ करोड चार लाख ४१ हजार रुपैयाँ नाफा कमाएका छन् । यी दुई कम्पनीको खराब कर्जा क्रमशः चार दशमलव २० र सात दशमलव १५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा मञ्जुश्रीले १८ करोड नौ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो भने प्रोग्रेसिभले पाँच करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । त्यसबेला यी दुई कम्पनीको खराब कर्जा क्रमशः तीन दशमलव ९५ प्रतिशत र नौ दशमलव ३४ प्रतिशत थियो ।
पोखरा, श्री इन्भेष्टमेन्ट र गुहेश्वरी मर्चेन्टले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म क्रमशः पाँच करोड ८१ लाख ३० हजार, चार करोड ९१ लाख सात हजार र तीन करोड २४ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । यस्तै यो अवधिमा खराब कर्जा क्रमशः ३१ दशमलव २५ प्रतिशत, तीन दशमलव ७५ प्रतिशत र छ दशमलव ९३ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा पोखराले १८ करोड २९ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा श्री इन्भेष्टमेन्टले तीन करोड १२ लाख १६ हजार रुपैयाँ खुद कुमाएको थियो । यस्तै गुह्ेश्वरीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । सो अवधिमा यी तीन फाइनान्स कम्पनीको खराब कर्जा । क्रमशः सात दशमलव ९१ प्रतिशत, दुई दशमलव ५५ प्रतिशत र पाँच दशमलव ७३ प्रतिशत थियो ।
मल्टीपर्पस र सेन्ट्रल फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः दुई करोड १६ लाख ४७ हजार र एक करोड ६९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका छन् । यी दुई कम्पनीको खराब कर्जाृ क्रमशः पाँच दशमलव ३६ र १२ दशमलव शून्य एक प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा मल्टीपर्पसले १५ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सेन्ट्रलले छ करोड १४ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । सो अवधिमा यी दुई कम्पनीको खराब कर्जा क्रमशः तीन दशमलव ४४ प्रतिशत र नौ दशमलव ५८ प्रतिशत थियो ।
गुडविल र नेपाल फाइनान्सले पनि क्रमशः एक करोड ५२ लाख २२ हजार र १७ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यी दुई कम्पनीको खराब कर्जा क्रमशः आठ दशमलव शून्य सात प्रतिशत र नौ दशमलव ६६ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यी दुई कम्पनीले क्रमशः आठ करोड ६४ लाख ६४ हजार रुपैयाँ र १३ लाख १८ हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः छ दशमलव ४८ प्रतिशत र नौ दशमलव २४ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स र जानकी फाइनान्सले क्रमशः १७ करोड ४७ लाख ११ हजार रुपैयाँ र १२ करोड ८३ लाख २५ हजार रुपैयाँ नोक्सानी बेहोरेका छन् । यस अवधिमा यी दुई कम्पनीको खराब कर्जा क्रमशः १६ दशमलव शून्य आठ प्रतिशत र ४४ दशमलव ४१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्स कम्पनीहरूले क्रमशः चार करोड ७२ लाख ५१ हजार र १० करोड ८६ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका थिए भने खराब कर्जा क्रमशः आठ दशमलव ४८ र २८ दशमलव ९१ प्रतिशत थियो ।
बेस्ट र गोर्खाज फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः सात करोड ७२ लाख एक हजार र छ करोड २१ लाख ८२ हजार रुपैयाँ खुद नोक्सानीमा छन् । यी दुई कम्पनीको खराब कर्जा क्रमशः ११ दशमलव ४९ प्रतिशत र चार दशमलव २८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई कम्पनीले क्रमशः ८० लाख २६ हजार रुपैयाँ र पाँच करोड ४८ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः तीन दशमलव ८६ प्रतिशत र तीन दशमलव ६१ प्रतिशत कर्जा खराब देखिएको छ ।
समृद्धि फाइनान्सले पनि चालू आर्थिक वर्षको तस्रो त्रैमासमा तीन करोड ५७ लाख छ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने खराब कर्जा १६ दशमलव ४२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो फाइनान्सले छ करोड ९३ लाख ७६ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा १७ दशमलव २३ प्रतिशत खराब कर्जा थियो ।