काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले बाख्रापालक कृषकहरूको लागि आधुनिक खोर निर्माण सुरु गरेको छ । नगरपालिकाले उत्पादन बढाउने योजनासहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरेको हो ।
पालिकाले बाख्राको नश्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ । अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताइन् । उनले भनिन्, ‘अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो ।’ हाल उनले १२ वटा बाख्रापालन गरेकी छिन् । अब खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने उनले जानकारी दिइन् । गाउँका धेरै बाख्रापालक कृषकले खोर बनाउने योजना बनाएको उनको भनाइ छ । मल्ल स्थानीय दिप्का बाख्रापालन स्वावलम्बी महिला कृषक समूहकी अध्यक्ष समेत हुन् । ३० जना महिला आबद्ध रहेको समूहका सदस्यहरू उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन् ।
वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडाध्यक्ष छविलाल आलेले बताए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको हो । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं. १ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खाँणले बताए । साझेदार संस्थाहरूसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेको उनले जानकारी दिए । वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खाँणको भनाइ छ ।
बाख्रापालनलाई व्यावसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । निर्वाहमुखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिकरूपमा सबल बनाउने पालिकाको योजना रहेको उनको भनाइ छ । नगरपालिकाले सञ्चालन गरिरहेको परियोजनामार्फत वडा नं.४, ५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए ।