जलेश्वर । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरुले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा मुख्यमन्त्री सिंहले सङ्घीयतालाई मन नपराउने केही व्यक्ति र सङ्घसंस्थाले सङ्घीयताको दुष्प्रचार गरिरहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहमा सङ्घीयता आउनुपूर्व कुनै पनि विकासका ठोस पूर्वाधार नरहेको तथा सङ्घीयता आइसकेपछि विभिन्न प्रदेश र स्थानीय तह हुँदै देशभरि नै विकासका लहर आएको उनले बताए ।
सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका विभिन्न विकास योजना निर्माण व्यवसायीले अधुरै छाडेका कारण प्रदेश तथा स्थानीय तहद्वारा गरिएका विकासका कामको प्रभावकारिता नदेखिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले सङ्घीय सरकारलाई त्यस्ता निर्माण व्यवसायीलाई तत्काल आफ्नो काम पूरा गर्नका लागि कडाइका साथ निर्देशन दिन आग्रह गरे ।
सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका ठूला योजना समयमै पूरा गरिएमा मधेस प्रदेश सरकारलाई आगामी दिनमा विकासका कदम चाल्न मद्दत पुग्ने उनले बताए । यसबाट जनताले विकासको अनुभूति गर्न पाउने तथा समग्रमा राष्ट्रले विकासमा फड्को मार्ने मुख्यमन्त्री सिंहको भनाइ थियो ।