काठमाडौं । नेपालको सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर समेत घोषणा गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले हाल नेपाल, भारत र जापानमा गरी २२ सयभन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको जानकारी दिएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवालगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरसिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ । डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र एक सयभन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ । डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा आठ सयभन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा एक सयभन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।
यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ । डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसियाजस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ । १५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए ।