काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११ गतेदेखि लागू हुनेगरी उनीहरूलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार बढुवा भएकाहरूको मंगलबार नै पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । उनीहरूलाई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा मंगलबार पदस्थापन गरिएको छ ।