काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको सदस्यमा नियुक्त गरेको हो ।
यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सिफारिस समितिको एक पद रिक्त थियो । सरकारले २०८१ चैत १६ गते नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा पूर्वगभर्नरहरूमध्येबाट एक जना र विज्ञबाट एक जना सदस्य रहने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए । तर भट्टराईले समिति गठन भएको लामो समय भइसक्दा अर्थमन्त्रीले एउटा पनि बैठक नबोलाएको भन्दै वैशाख १० गते राजीनामा दिएका थिए ।
राष्ट्र बैंक गत चैत २५ गतेदेखि गभर्नरबिहीन छ । पछिल्लो समय प्रमुख सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई गभर्नर बनाउने सहमति बनेको समाचार बाहिरिएको थियो । गभर्नर बन्ने बचन पाएपछि डा. भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
सिफारिस समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली सिफारिस गर्न सक्नेछन् । सिफारिस भएका नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर पदमा नियुक्त गर्ने व्यवस्था छ ।
गभर्नरमा डा. भट्टको योग्यता नपुग्ने भन्दै परेको निवेदनलाई सर्वोच्च अदालतले स्वीकार नगरेपछि उनलाई गभर्नर नियुक्त गर्न कानुनी बाधा पर्नेछैन ।