काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले बुधबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै विद्युत् तथा ग्यास र यातायातलगायत क्षेत्रमा राम्रो सुधार देखिए पनि जीडीपीमा सामान्य वृद्धि हासिल भएको जनाएको छ ।
यस आर्थिक वृद्धिददर आधारभूत मूल्यमा समायोजन नगरी उपभोक्ता मूल्यमा समायोजन गरिएको वृद्धिदर हो । तेस्रो त्रैमासिक आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत हुने अनुमान गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा तीन दशमलव ६७ प्रतिशत र आर्थिक वर्षमा २०७९/८० एक दशमलव ९८ प्रतिशतको आर्थिक वृद्धिदर थियो ।
कार्यालयले विद्युत् तथा ग्यास, यातायात तथा भण्डार, शिक्षा, खानी तथा उखनन् लगायतका क्षेत्रमा हुने वृद्धिदरका कारण आर्थिक वृद्धिदरसँगै अर्थतन्त्रको आकारमा समेत वृद्धि हुने जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा तीन खर्ब ९८ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।
‘तेस्रो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धिदर हुनुमा विद्युत् तथा ग्यास, यातायात तथा भण्डार, शिक्षा र खानी तथा उत्खननमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्’, कार्यालयले भनेको छ, ‘खासगरी यस अवधिमा पानी, आपूर्ति, ढल र फोहोरो व्यस्थापन तुलनात्मकरूपमा सबैभन्दा कम योगदान रहेको छ ।’
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा बढी वृद्धिदर रहेको क्रमशः विद्युत् तथा ग्यास १३ दशमलव ८२ प्रतिशत, यातायात तथा भण्डारण नौ दशमलव ४५ प्रतिशत, वित्तीय तथा बीमा छ दशमलव २९ प्रतिशत, सूचना तथा सञ्चार चार दशमलव ८१ प्रतिशत र मानव स्वास्थ्य चार दशमलव ७७ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ ।
त्यस्तै, पेसागत, वैज्ञानिक तथा प्राविधिक तीन दशमलव ९८ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा तीन दशमलव ९७ प्रतिशत, अन्य तीन दशमल ९२ प्रतिशत, उद्योग तीन दशमलव ७८ प्रतिशत, थोक तथा खुद्रा व्यापार तीन दशमलव ३० प्रतिशत, कृषि, वन तथा मत्स्य तीन दशमलव २८ प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव २४ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ । साथै घर, जग्गा कारोबार दुई दशमलव ७२ प्रतिशत, आवास तथा भोजन सेवा पाँच प्रतिशत, निर्माण दुई दशमलव २१ प्रतिशत, पानी, आपूर्ति ढल, फोहोर व्यवस्थापन दुई दशमलव नौ प्रतिशत, खानी तथा उत्खनन एक दशमलव ९९ प्रतिशत र शिक्षा एक दशमलव ९८ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ ।
कार्यालयका अनुसार चालू आवमा जीडीपी वृद्धिदर भने सबैभन्दा बढी कृषि, वन तथा मत्स्य, थोक तथा खुद्रा व्यापार, घर, जग्गालगायतका क्षेत्र छन् ।
चालू आवमा जीडीपीमा कृषि, वन तथा मत्स्य २५ दशमलव १६ प्रतिशत, थोक तथा खुद्रा व्यापार १४ दशमलव ५५ प्रतिशत, घर, जग्गा कारोबार आठ दशमलव २९ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा आठ दशमलव ७२ प्रतिशत, शिक्षा सात दशमलव ८७ प्रतिशत र यातायात तथा भण्डारण सात दशमलव २० प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ । त्यस्तै जीडीपीमा वित्तीय तथा बीमा छ दशमलव ६५ प्रतिशत, निर्माण पाँच दशमलव २४ प्रतिशत, उद्योग चार दशमलव ९८ प्रतिशत, आवास तथा भोजन सेवा दुई दशमलव ४६ प्रतिशत र मानव स्वास्थ्य एक दशमलव ९१ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ । साथै जीडीपीमा विद्युत् तथा ग्यास एक दशमलव ७३ प्रतिशत, सूचना तथा सञ्चार एक प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा शून्य दशमलव ७२ प्रतिशत, पेसागत, वैज्ञानिक तथा प्राविधिक शून्य दशमलव ९७ प्रतिशत, खानी तथा उत्खनन शून्य दशमलव ४६ प्रतिशत, पानी, आपूर्ति ढल, फोहोर व्यवस्थापन शून्य दशमलव ४२ प्रतिशत र अन्य शून्य दशमलव एक प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ ।
गत आवको तुलनामा चालू आवमा धान, तेलहन, दलहन र तरकारी बाली ताथ पशुपन्छीजनय उत्पादन (दुध, अण्डा, माछा तथा मासु)हरूको उत्पादनमा वृद्धि हुने अनुमानका कारण यस क्षेत्रका वृद्धि हुने अनुमान गरिएको निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनका अनुसार व्यापरजन्य वस्तुहरूको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले थोक तथा खुद्रा व्यापार, सवारीसाधन तथा मोटरसाइकल मर्मत सेवामा वृद्धिदर हुने अनुमान गरिएको हो ।